२४ फागुन, हेटौँडा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ ले मकवानपुरको राजनीतिक धरातलमा ऐतिहासिक मोड ल्याएको छ। २०४८ सालदेखि निरन्तर कायम रहँदै आएको वामपन्थी वर्चस्व यसपटक समाप्त भएको छ। जिल्लाका दुवै प्रतिनिधिसभा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार विजयी भएपछि मकवानपुर ३४ वर्षपछि प्रतिनिधिसभामा कम्युनिस्ट जनप्रतिनिधिविहीन बनेको हो।
आइतबार सम्पन्न मतगणनापछि मकवानपुर क्षेत्र नम्बर–१ बाट रास्वपाका प्रकाश गौतम र क्षेत्र नम्बर–२ बाट प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। मकवानपुर–१ मा रास्वपाका गौतम ३६ हजार ३३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले १४ हजार ३८ मत प्राप्त गरेकी छन्। गौतम २१ हजार ९९५ मतान्तरले विजयी भएका हुन्।
यस क्षेत्रमा एमालेका रामेश्वर राना मगरले १२ हजार ७८३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी नेकपाका विजय गौतमले १० हजार ७८८ मत ल्याएका छन्। उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २०५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दीपकबहादुर सिंहले ४ हजार ५७४ मत ल्याएका छन्। यस क्षेत्रमा कुल ९५ हजार ३१० मत खसेको थियो।
यसैगरी क्षेत्र नम्बर–२ मा रास्वपाका प्रशान्त उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरेका छन्। उप्रेतीले बर्तौलालाई ११ हजार २०४ मतान्तरले पराजित गरेका हुन्। यसैगरी नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का लवशेर विष्टले १२ हजार ४९२ मत ल्याएका छन्। यस क्षेत्रमा कुल ९१ हजार २४१ मत खसेको थियो।
निर्वाचित उप्रेती २५ वर्ष १० महिनाका छन्। उनी सम्भवतः प्रतिनिधिसभामा प्रवेश गर्ने सबैभन्दा कान्छा सांसदमध्ये एक बन्ने भएका छन्। युवा उमेरमै संसदीय राजनीतिमा प्रवेश गरेका उनको जितलाई मकवानपुरको राजनीतिमा नयाँ पुस्ताको उदयका रूपमा हेरिएको छ। मकवानपुरमा २०४८, २०५१ र २०५६ को निर्वाचनमा तीन निर्वाचन क्षेत्र कायम थिए। २०६४ र २०७० को संविधानसभा निर्वाचनमा चार निर्वाचन क्षेत्र बनाइयो भने नयाँ संविधान जारीपछि राज्य पुनर्संरचनापछि २०७४, २०७९ र २०८२ को प्रतिनिधिसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्र कायम छन्।
२०४८ यता भएका अधिकांश निर्वाचनमा वामपन्थी दलहरू नै मकवानपुरबाट विजयी हुँदै आएका थिए। २०५१ सालको मध्यावधि निर्वाचनमा मात्रै क्षेत्र नम्बर–१ बाट राप्रपाका कमल थापा विजयी भएका थिए भने २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ विजयी भएका थिए। बाँकी अधिकांश निर्वाचनमा भने वामपन्थी उम्मेदवारहरू नै निर्वाचित हुँदै आएका थिए।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मकवानपुरका चारवटै क्षेत्र तत्कालीन नेकपा माओवादी केन्द्र का उम्मेदवारले जितेका थिए। त्यसयता संघीय संसद्मा माओवादीले भने मकवानपुरबाट प्रतिनिधित्व गर्न सकेको छैन।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका दुवै क्षेत्र नेकपा एमाले ले जितेको थियो। क्षेत्र नम्बर–१ बाट कृष्णप्रसाद दाहाल र क्षेत्र नम्बर–२ बाट विरोध खतिवडा निर्वाचित भएका थिए। यस्तै २०७९ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर–१ बाट राप्रपाका दीपकबहादुर सिंह र क्षेत्र नम्बर–२ बाट एमालेका महेश कुमार बर्तौला विजयी भएका थिए। यसपटक भने दुवै क्षेत्र रास्वपाले जित्दै मकवानपुरको राजनीतिक समीकरणमा नयाँ अध्याय सुरु गरेको विश्लेषण गरिएको छ।
यद्यपि यसपटक निर्वाचित दुवै सांसदको पृष्ठभूमि भने कम्युनिस्ट राजनीतिसँग जोडिएको छ। प्रकाश गौतम पूर्व माओवादी कार्यकर्ता हुन् भने प्रशान्त उप्रेती एमालेको संगठित सदस्य रहेको परिवारबाट आएका हुन्। उप्रेतीका पिता रामचन्द्र उप्रेतीले छोरा रास्वपाबाट उम्मेदवार बनेपछि करिब ३५ वर्ष लामो एमाले सदस्यता त्यागेका थिए।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।