बागमती गोल्डकपः संकटालाई रोक्दै एपीएफ सेमिफाइनलमा
७ फागुन, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं बागमती गोल्डकप फुटबल प्रतियोगिताको निकै प्रतिस्पर्धात्मक खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई रोक्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ । जारी प्रतियोगिताको बुधबारको खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले संकटालाई १–० गोल अन्तरले हरायो ।
पहिलो हाफ गोल रहित बराबरी भएको खेलमा एपिएफले जितका लागि दोस्रो हाफको ८३ औं मिनेटसम्म कुर्नुप¥यो । एपिएफको जितका लागि सुजन कुमार पुलामीले गोल गरे । उनी खेलको ८१ औं मिनेटमा अनिष महर्जनको स्थानमा सब्टिच्युट खेलाडीका रुपमा मैदान छिरेका थिए ।
बुधबारको खेलको म्यान अफ द म्याच एपीएफका मणि कुमार लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे । जारी प्रतियोगितामा एपिएफले चितवनको हानामीलाई हराउँदै क्वाटरफाइनलमा पुग्दा संकटा भने वाई पाएर सिधै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।
...





















