
मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरिँदै
१४ भदौ, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली लागू हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र युनिसेफको साझेदारीमा पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरमार्फत उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीका अनुसार यसअन्तर्गत गाउँपालिकाभित्र ५२ प्रकारका संक्रमणजन्य रोगहरूको सूक्ष्म निगरानी गरिनेछ। ‘नेपाल सरकारले तोकेको ५२ प्रकारका महामारीजन्य रोगहरूको लक्षण देखिएमा तत्काल रिपोर्ट गर्ने र समस्याको तत्काल समाधान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो,’ उनले भने ।
शुक्रबार पब्लिक हेल्थ रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरका कार्यक्रम अधिकृत सुवास लामिछानेले गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीलाई औपचारिक रूपमा कार्यक्रम सञ्चालनसम्बन्धी जानकारीपत्र हस्तान्तरण गरेका थिए । ...